कलाकारीताबाट राजनीतिमा फड्को: रास्वपा प्रवेश गर्दै प्रकाश सपुतले भने– 'यो मेरो जीवनको कठोर निर्णय हो

काठमाडौं नेपाली सांगीतिक आकाशका चम्किला नक्षत्र प्रकाश सपुत अब औपचारिक रूपमा राजनीतिक मैदानमा उत्रिएका छन्। लामो समयको अड्कलबाजीलाई चिर्दै गायक तथा अभिनेता सपुतले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत सक्रिय राजनीतिमा होमिएको घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन शाहसँगको तस्वीर सार्वजनिक गर्दै आफ्नो नयाँ यात्राको आधिकारिक पुष्टि गरेका छन्।
किन रोजे राजनीति?
आफ्नो निर्णयलाई 'जीवनकै कठोर मोड' बताउँदै सपुतले नयाँ समय र नयाँ आन्दोलनलाई सम्बोधन गर्न नयाँ शक्तिमै आबद्ध हुनुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्:
"मैले निकै संघर्ष र धैर्यताले कमाएको दर्शकहरूको माया र फरक-फरक राजनीतिक आस्था भएका प्रशंसकहरूको मन दुखाएर यो बाटो रोजेको छु। पेशागत रूपमा यो मेरो लागि निकै कठिन निर्णय हो, तर मलाई विश्वास छ– मेरो इमान र कामले म फेरि सबैको मन जित्नेछु। हामीसँगै देशले जित्नेछ।"
फागुन २१ को निर्वाचन र प्रकाशको भूमिका
रास्वपाले प्रकाश सपुतलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ (दलित कोटा) उम्मेदवार बनाएको छ। भर्खरै आफ्ना सांगीतिक कार्यक्रमहरू (मेला-महोत्सव) को व्यस्तता सकेका सपुत अब पूर्ण रूपमा चुनावी प्रचारप्रसार र राजनीतिक अभियानमा केन्द्रित हुने भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



